फोटोरोचकविश्वसमाचार

आफ्नो परिवार भेट्न १७ हजार किलोमिटर यात्रा गर्ने सानी कुकुर

उसलाई किन यति लामो यात्रा पार गर्नुपर्‍यो?

Spread the love

भनिन्छ- मायाले पालेको कुकुर घरभन्दा जति टाढा पुगे पनि अन्ततः फर्किन्छ। आफ्नो परिवार भेट्टाएरै छोड्छ।

यो भनाइ अस्ट्रेलियाको एक कुकुरले सही सावित गरिदिएको छ।

अस्ट्रेलियाका एक परिवारले पालेको वेइनर प्रजातिको पिपस्क्वेक (पिप) नामक कुकुरले आफ्नो परिवार भेट्न धेरै नै लामो यात्रा तय गरेकी छ। सानी पोथी कुकुर पिपले अमेरिकादेखि अस्ट्रेलियासम्म पुग्न झन्डै १७ हजार किलोमिटर पार गरेर करिब पाँच महिनापछि आफ्नो परिवार भेटेकी हो।

पिप आफ्नो परिवारबाट कसरी अलग भई त? उसलाई किन यति लामो यात्रा पार गर्नुपर्‍यो?

यो सबको कारण हो कोरोना भाइरस।

पिपलाई जो र गाइ एल्बेक नामका दम्पत्तिले पालिरहेका थिए। उनीहरूले सन् २०१८ मा सिसिलीको

मेसिना सहरमा पिपलाई भेटेका थिए। छोटो समयमै पिप चार जनाको एल्बेक परिवारमा घुलमिल भई र परिवारकै सदस्य भएर बसिरहेकी थिई।

एल्बेक परिवार डुंगा सयरमा रमाउने परिवार हो। उनीहरू केही समयअघि चार वर्षे विश्वव्यापी समुद्री यात्रामा निस्केका थिए। ४० फुटको डुंगामै विश्व घुम्ने उनीहरूको योजना थियो। पिप डुंगामा समय बिताउन पाउँदा मजा मान्थी। एल्बेक दम्पत्तिका छोराहरू क्याम र म्याक्ससँग निकै लुटपुटिन्थी।

सन् २०२० को सुरूआतमै कोरोना भाइरस फैलिन थाल्यो। महामारीसँगै सबै देशले नाकामा कडाइ गरे। एल्बेक परिवार अमेरिकाको दक्षिण क्यारोलिना पुगेका थिए। त्यही बेला उनीहरूले यात्रा रोक्नुपर्‍यो र जहाजमार्फत अस्ट्रेलियास्थित घर फर्किनुपर्ने भयो।

तर अस्ट्रेलियामा घर पालुवा जनावर आयातको कानुन कडा छ। यसकारण एल्बेक परिवारले पिपलाई आफूसँगै घर फर्काउन नमिल्ने भयो।

एक त डुंगामा तय भएको यात्रा, जहाजमा गएर टुंगिएको। अर्कोतिर एकदमै कम समय। अनि आफ्नी प्यारी पिपलाई एक्लै बिरानो ठाउँमा कसरी छाड्ने?

घर फर्कने दिन नजिकिँदा उनीहरूले पिपलाई भानुआटुको दक्षिण प्रशान्त टापूबाट लैजाने योजना बनाए। यहाँबाट अस्ट्रेलिया, सिड्नी तुलनात्मक रूपमा छोटो पनि पर्छ।

एल्बेक परिवारले सोचेको थियो- अबको ६ हप्तापछि पिपसँग भेट भइहाल्छ। नाका सहज हुनासाथ उसलाई भेट्नेछौं। उसले आफ्नो सानो पुच्छर हल्लाउँदै हामीलाई स्वागत गर्नेछे। अनि हामी डुंगामै उसलाई घर फर्काउनेछौं।

सोचेजस्तो कहाँ हुन्छ र! कोरोना भुसको आगोझैं फैलियो।

एल्बेक परिवार चिन्तित भए। उनीहरूका छोरा निन्याउरा हुन लागे। तर विकल्प केही थिएन। जोका अनुसार उनलाई अस्ट्रेलियाको कडा नियमका कारण पिपलाई जहाजबाट घर फर्काउन लामो समय र प्रक्रिया लाग्ने थाहा थियो।

‘मलाई थाहा थियो, पिपलाई आयात गर्नुपर्छ। त्यसपछि उनलाई १० दिन क्वारेन्टाइनमा राख्नुपर्छ,’ जोले सिएनएन ट्राभललाई भनेकी छन्।

अनि उनीहरूले आफ्नो डुंगा र पिपका लागि सुरक्षित ठाउँ खोज्ने निधो गरे। पिपलाई कहाँ छाड्ने भन्ने चिन्ताले उनीहरूलाई खाँदै थियो। उनीहरूको उडानका लागि ४८ घन्टाभन्दा कम समय थियो।

यो मार्च २७ को कुरा हो। यही दिन जोले एउटा कार भाडामा लिइन्। पिपलाई लिएर आठ घन्टा गाडी चलाउँदै दक्षिण क्यारोलिनाको एक टापू पुगिन्। त्यहाँ उनका साथी लिन विलियम्स थिइन्। सानी पिपलाई आफूसँगै घर फर्काउन नमिल्ने भएपछि जोले उसको हेरचाह जिम्मा विलियम्सलाई दिइन्।

विलियम्सले पिपलाई केही समय आफूसँग राख्न मानिन्।

‘पिपको धेरै समय डुंगामै बितेको थियो। अब ऊ विलियम्ससँग भैंसी गोठमा बस्दै थिई,’ जोले त्यो बेलाको समय सम्झिँदै भनिन्, ‘त्यो सम्झिँदा मलाई अहिले पनि कस्तो-कस्तो लाग्छ।’

एल्बेक परिवार पिपलाई विलियम्सको जिम्मा दिएर जहाजमार्फत सिड्नी फर्किए।

दुर्भाग्यवश, विलियम्ससँग पहिल्यै फार्ममा दुइटा कुकुर थिए। र, धेरै लामो समय पिपलाई राख्न नसक्ने भइन्। विलियम्सले पिपका लागि नयाँ परिवार खोज्न थाालिन्। विज्ञापन गरिन् जसमा तीन जनाले जवाफ दिए।

उत्तर क्यारोलिनाकै हिल्सबरोमा बस्ने एलेन स्टेनवर्ग जवाफ दिनेमध्ये एक हुन्।

‘पिप जोसँग जाने निर्णय गर्छे उसैसँग बस्ने सम्झौता थियो,’ स्टेनवर्गले सिएनएन ट्राभललाई भनेकी छन्, ‘ऊ मसँग रमाई। केही दिनमै मसँग बस्न पनि आई।’

अप्रिल ४ मा पिप स्टेनवर्गकहाँ पुगी। विज्ञापनमा अस्ट्रेलियाका एल्बेक परिवारले पिपलाई किन उत्तर क्यारोलिनामै छोडे भन्नेबारे निकै थोरै विवरण उल्लेख थियो। स्टेनवर्गलाई सुरूमा एल्बेक परिवार कस्तो कठोर होला भन्ने पनि लाग्यो।

उनले भनेकी छन्, ‘डुंगामा यात्रा गर्ने परिवारले पिपलाई बेवारिसे अवस्थामा छाडे अनि उनीहरू अस्ट्रेलिया फर्के भन्ने बुझेँ। मैले ती परिवार कस्ता निर्दयी होलान् भन्ने सोचेकी थिएँ।’

‘तर जब उनीहरूसँग कुरा गर्ने मौका मिल्यो, मेरा आँखा खुले। त्यसपछि लाग्यो, उनीहरूले जति पिपलाई माया र हेरचाह गर्ने अरू कोही हुनै सक्दैन। मैले उनीहरूबारे पूर्ण विवरण नपाएका कारण गलत धारणा बनाएँ,’ स्टेनवर्गले एल्बेक परिवारसँगको संवादपछि फेरिएको धारणा सुनाइन्।

पिप स्टेनवर्गको हेरचाहमा रमाउँदै अमेरिकामा बसिरहेकी थिई। अनि उसको परिवार अस्ट्रेलियामा। जो हरेक दिन बिहान ४ बजेदेखि अमेरिकाबाट अस्ट्रेलियामा कुकुर आयात गर्ने कागजातहरू संकलन तथा बनाउने काममा लाग्थिन्।

एल्बेक परिवार पिप र स्टेनवर्गसँग भिडिओ र म्यासेजमार्फत कुराकानी गरिरहन्थे। स्टेनवर्ग पनि दिनकै पिपका फोटा खिच्थिन् र सामाजिक सञ्जालमा राख्थिन्।

भन्छिन्, ‘म सधैं पिपका फोटा सामाजिक सञ्जालमा राख्थेँ। पिपले आफ्ना फ्यान कमाउँदै थिई।’

पिप सामाजिक सञ्जालमा चर्चित भइरहँदा एल्बेक परिवार उसलाई अस्ट्रेलिया फर्काउने कुनै उपाय देखिरहेका थिएनन्। अन्ततः कोरोना महामारी फैलिएसँगै सम्पूर्ण यात्रा प्रतिबन्ध भए। एल्बेक परिवार अमेरिका जाने कुनै सम्भावना नरहेको स्पष्ट भयो। उनीहरू पुग्न नसक्ने भएपछि अब पिप आफैंले एक्लै अस्ट्रेलियाको यात्रा तय गर्नुपर्ने भयो।

‘अमेरिकाबाट कुकुर निर्यात गर्न अमेरिकाबाटै सिफारिस लिनुपर्छ। यसका लागि कुकुरको स्वास्थ्य राम्रो छ भन्ने प्रमाण हुनुपर्छ। रेबिज सम्बन्धी रगत परीक्षण गरिएको हुनुपर्छ,’ जोले प्रक्रिया बुझाइन्, ‘यो सबै परीक्षण न्यूयोर्कमा हुन्थ्यो। तर त्यो कार्यालय बन्द भइसकेकाले काम गर्न एकदमै गाह्रो भयो।’

स्टेनवर्गले उता दक्षिण क्यारोलिनामै पिपको जाँच गराइन्। पिपलाई अस्ट्रेलिया पठाउने मापदण्ड पूरा गर्न नियमित खोप र रगत परीक्षणका लागि नजिकैको भेटिरिनरी क्लिनिकमा लगिन्। कागजातहरू संकलनमा गर्दै आफ्नो तर्फबाट सक्दो खटिन्।

अन्ततः उनीहरूले अमेरिकाबाट अस्ट्रेलियामा कुकुर पठाउन अनुमति पाए। एल्बेक परिवार र स्टेनवर्ग खुसी भए पनि यो हर्ष धेरै बेर टिकेन। किनकी अमेरिकाबाट अस्ट्रेलिया उड्ने कान्टास जहाजले भनिदियो- हामी अहिले कुकुरहरू जहाजमा पठाइरहेका छैनौं।

पिपको मायाले एल्बेक परिवार छट्पटिसकेको थियो। जोले प्रयास गर्न छाडिनन्। कैयौं सम्पर्क गरेपछि उनले पत्ता लगाइन्, पिपलाई न्युजिल्यान्ड हुँदै आयात गर्न सकिन्छ। यसका लागि पिप न्युजिल्यान्डको अक्ल्यान्ड सहर आइपुग्नु पर्ने हुन्छ। जोले अस्ट्रेलियाकै ‘जेटपेट्स’ नामक पशु आयात कम्पनीमार्फत् पिपलाई लस एन्जलसदेखि अक्ल्यान्ड ल्याउनसक्ने सम्भावना देखिन्।

जेटपेट्सले पनि पिपलाई अक्ल्यान्डसम्म ल्याउने बतायो।

अब अमेरिकामा स्टेनवर्ग उसलाई पठाउने काममा खट्नुपर्ने थियो। तर पिपसँग तीन महिना बिताइसकेपछि स्टेनवर्ग यही समयमा आफ्नो परिवार भेट्न जानुपर्ने भयो। उनले पिपलाई आफ्नी साथी स्टेसी ग्रीनकहाँ छाडिन्। पिप स्टेसीसँग पनि झ्याम्मिएको थियो।

स्टेसीलाई पिप खुबै मन परेको सम्झनामा जो जिस्किँदै भन्छिन्, ‘जब स्टेसीले पिप पाइन्, उनी साँच्चै पिपसँग प्रेममा डुबेकी थिइन्। मलाई त पिप मैले फिर्ता नै पाउँदिनँ कि भन्ने समेत लागेको थियो।’

स्टेसीले पिपलाई उत्तर क्यारोलिनाबाट लस एन्जलस पुर्‍याउनुपर्ने थियो। तर उडानहरू सञ्चालन हुने टुंगो थिएन, रद्द भइरहेका थिए। कार्गो उडानमार्फत पुर्‍याउने सम्भावना पनि थिएन। किनकी मेदेखि सेप्टेम्बरबीच कार्गोले गर्मी मौसम भन्दै कुनै घरपालुवा जनावर आयात-निर्यातका लागि अनुमति दिँदैनथ्यो।

अब जोसँग एउटै उपाय थियो, सामाजिक सञ्जाल। उनले पूर्व तटबाट पश्चिम तटमा यात्रा गर्ने कोही छन् कि भन्दै मद्दत आह्वान गरिन्।

जोको यो आह्वानमा ‘द स्पार्की फाउन्डेसन’मा कार्यरत मेलिसा योङले जवाफ फर्काइन्। यो फाउन्डेसन कुकुर बचाउ अभियानमा संलग्न छ। मेलिसा स्वयंसेवी रूपमा पिपलाई लिएर अमेरिकाभर उडान गर्न तत्पर भइन्।

यो खबर पाएपछि स्टेसीले भावुक हुँदै पिपलाई मेलिसाको जिम्मा लगाइन्। पिप मेलिसासँग पनि छोटो समयमै घुलमिल भई। माया गर्ने मान्छे पाएपछि सानी पिप दंग परी।

 

उनीहरूले जुलाइ १९ मा ग्रिन्सबोरोदेखि चार्लोटसम्म यात्रा गरे। त्यहाँबाट लस एन्जलस। पिप जहाजमा मेलिसाको सिटमुनि नै बसिरही। लस एन्जलस पुगेर मेलिसा र पिप एक रात होटलमा बसे। भोलिपल्ट जेटपेट्सको कार्यालय गए। अब पिपलाई लस एन्जलसदेखि अकल्यान्ड पुर्‍याउने जिम्मा जेटपेट्सको थियो।

जुलाई २१ मा जेटपेट्सले पिपलाई लस एन्जलसबाट अक्ल्यान्ड जाने जहाजमा राख्यो। यता एल्बेक परिवार उनीहरूको जहाज ट्र्याक गर्दै कुरिरहे।

जो भन्छिन्, ‘हामी त्यही उडान हेरिरहेका थियौं। कहाँ आइपुग्यो भन्दै छट्पटेका थियौं।’

१३ घन्टे उडानपछि जुलाई २३ मा पिप अकल्यान्ड पुगी। तर सिधै एल्बेक परिवारसँग जान उसलाई अनुमति थिएन। त्यहाँबाट मेलबोर्न गएर १० दिन क्वारेन्टाइन बस्नु थियो। विदेशबाट अस्ट्रेलिया आउने सबै घरपालुवा जनावरलाई १० दिने क्वारेन्टाइन अनिवार्य थियो।

पुगेकै रात, जुलाइ २४ देखि पिप क्वारेन्टाइन बसी। क्वारेन्टाइन सकेर अगस्ट ३ मा मेलबोर्नदेखि सिड्नी जाने योजना थियो। तर भिक्टोरिया राज्यले त्यही बेला कडा लकडाउन घोषणा गरिदियो। भिक्टोरिया र न्यु साउथ वेल्सको नाका पनि बन्द भयो।

पिपसँग भेट्ने एल्बेक परिवारको सपना अझै लम्बियो। मेलबोर्न बस्ने जोका भाइ रब पिपलाई केही दिन आफूसँग राख्न सहमत भए। रबकहाँ बस्दा पिपका लागि चार वटा उडान बुक गरियो, सबै रद्द भए। यतिन्जेल पिपको यो यात्राबारे स्थानीय मिडियाले चाल पाइसकेका थिए। सिड्नी मर्निङ हेराल्डले पिपबारे रिपोर्ट समेत बनायो।

उक्त खबरपछि भर्जिन अस्ट्रेलिया एयरलाइन्सले पिपलाई घर पुर्‍याउने जिम्मा लियो। अन्ततः पिप भर्जिन एयरलाइन्सको मद्दतमा अगस्ट ११ गते मेलबोर्नबाट उडी र सिड्नी एयरपोर्ट पुगी।

त्यहाँ उसको स्वागतका लागि एल्बेक परिवार मात्र थिएनन्। केही फिल्मकर्मी र थुप्रै स्थानीय मिडिया पनि थिए। एल्बेकहरू र पिपको यो भेट ५ महिनाभन्दा बढीपछिको थियो। त्यो भावनात्मक पुनर्मिलन थियो।

‘सबभन्दा ठूलो डर यतिका समयपछि पिपले हामीलाई बिर्सिन्छे होला भन्ने थियो,’ जोले भनिन्, ‘मेरा बच्चाहरू पनि धेरै चिन्तित थिए। उनीहरूले पिप आफूहरू नजिक आवोस् भनेर हट-डग लिएर गएका थिए।’

त्यो मिलनको क्षण देखेर सबै चकित खाए। जब पिपले जो, गाइ, म्याक्स र क्यामको आवाज सुनी, ऊ बुरूक्क उफ्रिँदै उनीहरूको काखमै पुगी।

‘यति लामो पर्खाइपछि उसलाई फिर्ता पाउनु अचम्मको कुरा थियो। हामी निकै खुसी छौं। उसले हामीलाई भुलिनछे,’ जोले भनेकी छन्।

पिप आएपछि एल्बेकहरूले आफ्नो परिवार पूर्ण भएको महशुस गरे।

‘मलाई थाहा छ यो कुकुर हो। तर हामी उसलाई हाम्रै सदस्य मान्छौं,’ जोले भनेकी छन्, ‘डुंगामा बस्दा सबैले काम गर्नुपर्छ। पिप केही गर्दिन। र पनि उसलाई हाम्रो चालक दलको सदस्य ठान्छौं।’

अहिले एल्बेक परिवार स्कटल्यान्ड टापूमा सरेका छन्। यो सिड्नीको उत्तरी समुद्री तटमा पर्छ। जोका दुवै छोराहरू स्कुल फर्केका छन्। जो र गाइ ‘टिन्नी’ नामको माछा मार्ने डुंगामा यात्रा गरिरहन्छन्, पिपसँगै।

‘पिप आफूलाई डुंगाकै कुकुर ठान्छे र यसलाई अँगालेकी छ,’ जो पिपको स्वाभावबारे भन्छिन्, ‘ऊ आफ्नो दैनिकीमा फर्किसकी र रमाएकी छ। डुंगाको अगाडि भागमा सुतिरहन्छे र हामीलाई चाटेर माया गर्दै दिन बिताउँछे।’

आफूहरूले विश्वव्यापी समुद्री यात्रा निरन्तरता दिन पाएका भए जोलाई लाग्छ, उनीहरू यतिबेला फ्रान्सेली पोलिनेसिया वा फिजी जाने क्रममा हुन्थे। तर उनीहरूको डुंगा त अहिले त्यहीँ छ, जहाँ उनीहरूले मार्चमा छाडेका थिए।

एल्बेक परिवारले चित्त बुझाइसके, अब डुंगा अस्ट्रेलिया फर्काउन सकिँदैन। उनीहरूले डुंगा बेच्ने निधो गरेका छन्।

अहिले उनीहरू स्कटल्यान्ड टापूमै आफ्नो नयाँ जीवनमा रङ भर्न केन्द्रित छन्। उनी केही सकारात्मक हुँदै भन्छिन्, ‘केही वर्षपछि फेरि डुंगा यात्रा गर्नेछौं भन्ने आश छ।’

एल्बेक परिवार पिपको हेरचाह र घरसम्म पुर्‍याउन सहायता गरेका हरेकसँग सम्पर्कमा छन्।

पिपसँग तीन महिना बिताएकी स्टेनवर्ग भन्छिन्, ‘हामीले आजीवन साथी बनाएका छौं। पिपलाई मिस गर्छौं भन्दै सामाजिक सञ्जालका पोष्टमा अहिले पनि प्रतिक्रिया आउँछ। यो वास्तवमै निकै रोचक कथा बनेको छ। यो कथाको एक हिस्सा हुन पाउँदा मलाई निकै खुसी लागेको छ।’

पिपको यात्रा कुनै फिल्मको कथाभन्दा कम पनि थिएन।

एउटा मृगौलाको लागत रु 60 करोड । यसरी Kidney फलाउने l

BIKRAM RANA

Hi, I am Bikram Rana !

Related Articles

Back to top button