घुस मागेको उजुरीपछि इन्स्पेक्टरलाई सोधियो स्पष्टिकरण

इलाका प्रहरी कार्यालय लुहाम सल्यानका प्रमुख रहेका प्रहरी निरीक्षक श्यामकुमार यादवविरूद्ध सेवाग्राहीसँग १० हजार रूपैयाँ घुस मागेको आरोप लागेको छ।
दुर्घटना बीमा प्रमाणित गरिदिन एक सेवाग्राही पुग्दा उनले पैसा मागेको आरोप छ। उनीविरूद्ध घुस मागेको आरोपसहित सेवाग्राहीले उजुरी दिएका थिए।
दाङको तुलसीपुर उपमहानगर वडा नम्बर ९ नवकान्तिपुर भलाइ तथा इन्भेन्ट कम्पनी प्रालिका शाखा म्यानेजर महेन्द्र महराले प्रहरी निरीक्षक यादविरूद्ध जिप्रकामा सोमबार उजुरी दिएका हुन्।
उजुरी परेपछि उनलाई जिप्रका सल्यान खलंगा झिकाइएको छ।फागुन २ गते सल्यान कपुरकोट गाउँपालिका ३ तल्लो बजारमा बा ४ ख ५३६३ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना भएको थियो।
स्थानीय एक व्यक्तिको घरमा बस ठोक्किएको थियो। दुर्घटनापछि प्रहरी चौकी कपुरकोटमा छलफल पनि भएको थियो। घर धनीलाई घर मर्मतका लागि एक लाख ९० दिने सहमति भएको थियो। घर धनीले पैसा पनि पाइसकेका छन्।
तर दुर्घटना प्रमाणित गर्न प्रहरी कार्यालयबाट खोज्दा प्रहरी निरीक्षक नमानेको महराको दाबी छ। नि:शुल्क हुने कामका लागि पनि १० हजार मागेको पनि उनले दाबी गरेका छन्।प्रहरी निरीक्षक यादवविरूद्ध उजुरी आएपछि अनुसन्धान र छानविन सुरु गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गोविन्द थापाले बताए। उनले दोषी देखिए कारवाही गर्ने बताए।
‘स्पष्टिकरण सोधेका छौं। दोषी पाइए कारवाही हुन्छ। चित्तबुझ्दो जवाफ नआए विभागले सेवाबाट नै निलम्बन पनि गर्न सक्छ,’ उनले भने।