खेलकुुद

अन्तर्राष्ट्रिय फुटबलका लागि दशरथ रंगशाला तयार हुँदै

Spread the love

गत वर्ष मंसिरमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबल खेलपछि पहिलो पटक दशरथ रंगशालामा दर्शकसहितको फुटबल खेल हुँदैछ । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा यही चैत १० देखि १६ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा त्रिदेशीय फुटबल प्रतियोगिता आयोजना हुँदैछ । जसमा नेपालसहित बंगलादेश र किर्गिस्तानले प्रतिस्पर्धा गर्नेछन् । किर्गिस्तानको ओलम्पिक टिमले खेल्नेछ ।

यही चैत दोस्रो साता नेपालमा विश्वकप छनोट अन्तर्गत नेपालले चाइनिज ताइपेई र अष्ट्रेलियासँग खेल्ने तय भएको थियो । तर कोरोना महामारीका कारण खेल स्थगित भएपछि एन्फाले त्रिदेशीय फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो । विदेशी टिमलाई पनि नेपालमा खेलाउन सकिन्छ भन्ने सन्देश दिन यो प्रतियोगिता आयोजना गर्न लागेको एन्फाले जनाएको छ ।

१३औं साग सम्पन्न भएको झण्डै १६ महिनापछि दशरथ रंगशालमा अन्तर्राष्ट्रियस्तरको फुटबल हुन लागेको हो । एन्फा प्रवक्ता किरण राईले प्रतियोगिताका लागि रंगशालमा तयारी अन्तिम चरणमा रहेको बताए । ‘रंगशालाको तयारी ९५ प्रतिशत सकिएको छ । सिनियर टिमले २०१५ पछि पहिलो पटक खेल्न लागेको हो । यू–२३ टिमले गत वर्ष साग फुटबल खेलेका थिए,’ राईले भने ।

सागपछि गत वर्ष शहीद स्मारक ए डिभिजन लिगका खेलहरु दशरथ रंगशालमा भएको थियो । यस्तै गत वर्ष माघ–फागुनमा राष्ट्रिय महिला लिगको उद्घाटन र समापन खेल पनि दशरथ रंगशालमै खेलाइएको थियो ।

महिला राष्ट्रिय लिगमा पनि खेल हेर्न दर्शक उपस्थित भएका थिए । विश्वकप छनोट अन्तर्गत अष्ट्रेलियासँगको खेल हेर्न नपाएपनि नेपाली दर्शकले अन्तर्राष्ट्रियस्तरको खेल भने दशरथ रंगशालमा हेर्न पाउने भएका हुन् ।

नेपालको सिनियर फुटबल टिमले भने पछिल्लो पटक सन् २०१५ मा भारतसँग विश्वकप छनोट खेल खेलेको थियो । त्यसयता सिनियर टिमले पहिलो पटक रंगशालामा खेल्न लागेको हो ।

त्रिदेशीय फुटबलका लागि बंगलादेशको टोली बिहीबारै आउँदैछ भने किर्गिस्तानको टोली चैत ८ गते आइपुग्नेछ । प्रतियोगिताको विजेताले ५ हजार डलर र उपविजेताले ३ हजार डलर प्राप्त गर्नेछन् ।

यस्तै खेल हेर्नका लागि भीआइपीतर्फ १५ सय र साधारणतर्फ ७ सय टिकट मूल्य तोकिएको छ । रंगशालाको क्षमता १५ हजार रहेपनि १२ हजार टिकट मात्र बिक्री गर्ने लक्ष्य रहेको एन्फाले जनाएको छ । प्रतियोगितामा १ करोड ५० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य रहेको एन्फाले जनाएको छ । यस्तै एन्फाका अनुसार १ करोड रकम खर्च हुनेछ ।

sponsored

Nirmala Nepali

Namaste, I am Nirmala form Pokhara, running Bachelor on Mass Communication.

Related Articles

Back to top button