टीकापुरमा आजदेखि होली शुरु

कैलालीको टीकापुरमा आजदेखि होली देउडा खेल्न शुरु गरिने भएको छ । टीकापुर सांस्कृतिक समाजको आयोजनामा खेलिने होली देउडा टीकापुरको खुलामञ्चमा शुरु हुनेछ । होलीको तयारीका लागि शनिबार आयोजक सांस्कृतिक समाज टीकापुरले होली सञ्चालनका विषयमा सर्वपक्षीय सर्वदलीय छलफल गरेको छ ।
टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले सांस्कृतिक समाज टीकापुरले होलीको समयमा मात्र नभई सधैँ संस्कृति संरक्षणका लागि सक्रिय हुनुपर्ने बताए । “संस्कृति हाम्रो पहिचान हो, संस्कृतिले सभ्यता सिकाउने भएकाले कला र संस्कृति संरक्षणका लागि सांस्कृतिक समाजको सक्रियता आवश्यक छ”, नगरप्रमुख रावलले भने, “होलीलगायत यस क्षेत्रमा रहेका संस्कृति जोगाउन नगरपालिकाले सक्दो सहयोग गर्नेछ । संस्कृति नयाँपुस्तामा हस्तान्तरण गर्ने विषयमा सबैले सचेत हुनुपर्ने आवश्यकता छ ।”
टीकापुरमा आयोजना हुने होली देउडा हेर्न सुदूरपश्चिमका विभिन्न जिल्ला र प्रदेश नं ५ का बर्दिया, बाँकेका नागरिक पनि हेर्न आउने गर्छन् ।
सुदूरपश्चिमका पहाडी जिल्लाबाट बसाइँ सरी आएका नागरिकले खेल्ने होली देउडा पछिल्लो समय सबै नागरिकले खेल्ने गरेका छन् । होली देउडा खेल्दा पुरुष सेतो पहिरनमा सजिएर, फूलको माला र रातो टीका पहिरिएर खेल्ने चलन छ ।
सांस्कृतिक समाजले देउडा खेल युवापुस्तामा हस्तान्तरण गर्न आवश्यक रहेको भन्दै टीकापुरमा साप्ताहिकरूपमा दुई महिनादेखि देउडाको अभ्यास गराइरहेको छ ।