खसीबोका व्यापारले मालामाल पशुपति !!!
शान्तिनगर गाउँपालिका-३ भलानेटीका ४० वर्षीय पशुपति घर्ती मगरलाई अचेल खसीबोका खोज्न भ्याइनभ्याई छ

शान्तिनगर गाउँपालिका-३ भलानेटीका ४० वर्षीय पशुपति घर्ती मगरलाई अचेल खसीबोका खोज्न भ्याइनभ्याई छ।उनी खसी खोज्दै दाङ, सल्यान, प्युठान र रूकुमसम्म कुदिरहन्छन्।
हिन्दु नेपालीहरूका ठूला चाड दशैं र तिहार नजिकिएपछी उनको दौडधुप झनै बढ्छ।
महिनामा साढे २ सय हाराहारी खसीबोका काठमाडौं पठाउने घर्तीले चाडवाडका बेला ५-६ सय खसीबोका खोज्छन्।खाद्य संस्थान तुलसीपुरले पनि उनीसँगै खसीबोका किन्छ। गत वर्ष उनले खाद्य संस्थानलाई २ सय खसीबोका बेचेका थिए। संस्थानले दाङबाट वर्षेनी ४-५ सय खसीबोका काठमाडौं पठाउँछ।
पशुपतिले खसीबोकाको व्यापार गर्न थालेको १७ वर्ष पुगिसक्यो। सुरूमा एक्लै व्यवसाय थालेका उनले पार्टनरसिप गरेको पनि १३ वर्षजति भयो। मोहनसिंह खड्का र भीमबहादुर शाही उनका पार्टनर हुन्। पशुपतिले सुरूमा गाउँघरबाट खसीबोका खोजेर डोर्याउँदै तुलसीपुर बजारमा ल्याएर बेच्ने गर्थे। त्यसरी ६ महिना काम गर्दा उनले ६२ हजार रुपैयाँ कमाए। त्यसपछि उनले मेहनत गरे खसीबोका व्यापारबाट राम्रै आम्दानी गर्न सकिने रहेछ भन्ने बुझे। गाउँघरबाट खसी ल्याएर बेच्दाबेच्दै खसी मार्केटमा उनलाई धेरैले चिन्न थालिसकेका थिए। त्यसपछि उनीहरूले अलि पाका उमेरका भीमबहादुरलाई आफ्नो योजना सुनाए। उनी पनि पार्टनर बन्ने भए। तीन जनाको पार्टनरसिपमा तालाबाङ्गी मासु पसल सञ्चालनमा आयो।